सिन्धुलीमा प्रथम राष्ट्रिय कोदो दिवस सम्पन्न,
![]()
सिन्धुली ।
‘कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ भन्ने मूल नारासहित सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, सिमलटारमा आज (शुक्रबार) सामूहिक कोदो रोप्दै प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको थियोे ।
गोलन्जोर गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १ का अध्यक्ष सोमप्रसाद बरालको अध्यक्षता भएको थियोे । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल, कृषि शाखाका कर्मचारी तथा स्थानीय कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पहिले बेवास्ता गरिएको रैथाने बाली कोदो अहिले कृषकहरूको प्राथमिक रोजाइमा परेको उल्लेख गर्दै यसको पौष्टिकता र स्वादिष्ट परिकारबारे विशेष चर्चा गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असार २३ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ मनाइने भएको हाे । सोही निर्णयअनुसार यस वर्ष गोलन्जोर गाउँपालिकाले पहिलो पटक दिवस मनाएको हाे ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले कोदोजस्ता रैथाने बाली आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी कोदो तथा अन्य रैथाने बालीको उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयाे
त्यसैगरी निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरीले कोदो साना तथा सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले यसलाई सरकारी लगानी र नीतिगत प्राथमिकतासहित प्रबर्द्धन गर्न आवश्यक रहेको बताउनुभयाे । उहाँको अनुसार यस्ता बालीलाई ब्रान्डिङ गर्दै बजार व्यवस्थापन गर्न सके यसको महत्व अझ बढ्ने बताउनुभयो ।![]()







