सिन्धुलीको पहिचान ‘जुनार’, प्रवर्द्धन मेलाले दिनेछ नयाँ सोच र अवसर,

२०८२ मंसिर ५ गते, शुक्रबार

सिन्धुली ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं ४ तिनकन्यामा आगामी मंसिर २३ देखि २५ गतेसम्म ‘जुनार प्रवर्द्धन मेला’ हुने भएको छ।

आफ्नै स्वाद, सुगन्ध र पहिचानले देशभरि चर्चित सिन्धुलीको जुनारलाई थप व्यवस्थित बजार र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रोत्साहन दिलाउन उद्देश्यसहित मेलाको तयारी गरिएको हाे ।

गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार)का अनुसार सबैकाे बिचमा पर्ने गरि मेलास्थल चयन गरिएको छ। “स्थानीय किसानले उत्पादन गरेको जुनार आर्थिक सम्भावना मात्र होइन, गाउँको पहिचानसमेत बनेको छ। यसलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउने उदेश्यकाे रूपमा मेला निकै महत्वपूर्ण हुने छ,”।

किसानहरू हाल जुनारमा फैलिएको रोग तथा कीराको प्रकोपले तनावमा छन्। उत्पादनमा प्रत्यक्ष असर परिरहेको देखेपछि गाउँपालिकाले पनि यसलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ। यही कारण आगामी तीनदिने जुनार प्रवर्द्धन मेला किसानका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। मेलामा रोग–किरा नियन्त्रणका उपायदेखि प्रविधि प्रयोग, गुणस्तर सुधार, प्रशोधन सम्भावना र नीति निर्माणमा आवश्यक समन्वयसम्मका विषयमा ध्यान केन्द्रित गरिनेछ।

आयोजकले मेलालाई कृषिसँगै पर्यटन प्रवर्द्धनको अवसरका रूपमा पनि हेरेका छन्। तिनकन्याको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कार–संस्कृति र कृषि जीवनशैली नजिकबाट अनुभव गर्न आन्तरिक पर्यटकका लागि मेला विशेष आकर्षण बन्ने विश्वास गरिएको छ।

गोलञ्जोर गाउँपालिकाले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै मेलाको तयारीलाई तीव्र बनाइरहेको छ। स्थानीय उत्पादनलाई दिगो बजार, किसानलाई आत्मविश्वास र गाउँलाई आर्थिक चलायमानतामा जोड्ने उद्देश्यसहित मेला व्यवस्थित ढंगमा आयोजना हुन लागेको हो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon