प्रचण्ड संयोजक र नेपाल सहसंयोजक हुने गरी आठ दलबीच एकताको सहमति,

२०८२ कार्तिक १७ गते, सोमबार

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत आठ कम्युनिस्ट पार्टीहरुले पार्टी एकता गर्ने निर्णय गरेका छन्

माओवादीका संयोजक पुष्पकमल दाहाल संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय भएको हो ।

माओवादी र एकीकृत समाजवादीमा एकताविरुद्ध फरक मत भए पनि हिजो बेलुका १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो । पार्टीको नाम टुंग्याउन बाँकी छ भने चुनाव चिह्न पाँचकुने तारा हुने सहमति भएको छ । सहमति पत्रमा माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गरेका छन् । एकता राष्ट्रिय सम्मेलनको आयोजना आउँदो १९ गते हुनेछ ।

एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत काम हुने सहमतिपत्रमा उल्लेख छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने उल्लेख छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon