मोतिबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न, ८७ जनाले पाए निःशुल्क दृष्टि उपचार सेवा,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकाको आयोजना तथा Tilganga Institute of Ophthalmology को प्राविधिक सहयोगमा, Fred Hollows Foundation र Good Vision Nepal को सहकार्यमा सञ्चालन गरिएको दुईदिने मोतिबिन्दु आँखा जाँच तथा शल्यक्रिया शिविर मरिण आधारभूत अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको छ।उक्त शिविर मिति २०८२ साल चैत १४ गतेदेखि सञ्चालन भई स्थानीय नागरिकलाई प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न भएको हो।
शिविर अवधिभर कुल १३४ जना बिरामीहरूको आँखा परीक्षण (स्क्रिनिङ) गरिएकोमा ४१ पुरुष र ४६ महिला गरी जम्मा ८७ जनाको निःशुल्क मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको थियो। ग्रामीण क्षेत्रमा यस प्रकारका स्वास्थ्य शिविरहरूले सेवा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने गरेको देखिएको छ।
शिविर समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले यस्ता मानवीय तथा नागरिकमैत्री स्वास्थ्य कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउने सम्पूर्ण संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अझ प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।![]()
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र विशेषज्ञ डा. प्रतिभा लामा जोशी, वडाध्यक्ष हर्कवीर माझी, कार्यपालिका सदस्यहरू, डा. अनिल त्याठा, डा. महेश कुमार श्रेष्ठ, शिविर व्यवस्थापक भोजराज पोखरेल, कार्यक्रम अधिकृत निर्जना धोजु लगायत स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण भेगका नागरिकहरूलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत सकारात्मक योगदान पुर्याएको छ।![]()







