“पहिलो सुख निरोगी काया” अभियानसँगै चाँगुनारायण योग नगर बन्दै

२०८३ जेष्ठ ५ गते, मंगलवार

भक्तपुर ।

भक्तपुरको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक नगर चाँगुनारायण अब देशकै पहिलो “योग नगर” बन्ने भएको छ । चाँगुनारायण नगरपालिकाले आगामी जेठ १० गते वागमती प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा आधिकारिक रूपमा “योग नगर घोषणा” गर्ने तयारी गरेको जनाएको छ ।

नगरपालिकाले घोषणा अघि जेठ ८, ९ र १० गते बिहान ५ बजेदेखि खरीपाटीस्थित विद्युत तालिम केन्द्र परिसरमा वृहत् खुला योग शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा नगरवासीसहित बाहिरका नागरिकले पनि सहभागी हुन सक्नेछन् ।

नगर प्रमुख जीवन खत्रीका अनुसार बढ्दो उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा मानसिक तनावजस्ता नसर्ने रोग न्यूनीकरणका लागि योग, ध्यान र प्राणायामलाई जीवनशैलीसँग जोड्न आवश्यक भएको हो ।

नगरपालिकाले प्रत्येक वडामा नियमित योग शिविर, विद्यालयमा योग शिक्षा, दक्ष योग प्रशिक्षक उत्पादन, योग पार्क तथा ध्यान केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । साथै आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै चाँगुनारायणलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ ।

“पहिलो सुख निरोगी काया” भन्ने जीवनदर्शनलाई व्यवहारमा उतार्दै चाँगुनारायण अब स्वास्थ्य, संस्कृति र आध्यात्मिकताको नमुना नगरका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon