काभ्रेमा सुरु भयो आलुको ‘ब्राण्डिङ’
काभ्रे
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा काभ्रेमा आलुको ‘ब्राण्डिङ’ गर्न शुरु भएको छ । आलुको ‘हब’ मानिने काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । आलु सुपरजोनका रूपमा जिल्लाको चिनारी बनाउन तथा पनौतीको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने उदेश्यले ‘प्याकेजिङ’ शुरु भएको छ ।
प्रारम्भिक चरणमा दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको ‘प्याकेजिङ’ हुने गरी ब्राण्डिङ शुरु गरेको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माणसहित ‘प्याकेजिङ’ गरेकाे आलु बजारीकरण शुरु गरेको थापाले बताउनुभयो ।
केही दिनअघि आलु ‘प्याकेजिङ’लाई काभ्रेका बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारीले बताउनुभयो ।
सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले आलु ब्राण्डिङ कार्यक्रमले अन्य व्यवसायिक किसानलाई पनि प्रेरणा मिलेको बताउनुभयो । काभ्रेको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।







