मन्थली नगरपालिकाको १७औं अधिवेशन सम्पन्न, १ अर्ब ४ करोडको भन्दा माथि बजेट सार्वजनिक,
रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको १७ औं अधिवेशन हिजो (साेमबार ) सम्पन्न भएको छ । नगर सभामा प्रमुख लव श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्षकाे स्थानीय विकास योजना, सेवा प्रवाह, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरणीय संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति प्रस्तुत गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले समावेशी, दिगो र सन्तुलित विकासको अवधारणा अनुरूप स्थानीय आवश्यकता, नागरिकको सरोकार र उपलब्ध स्रोतलाई यथासम्भव उपयोगमा ल्याउँदै नीति निर्माण गरिएको जानकारी दिनुभयो ।
नगरको नीति कार्यान्वयनका लागि उप–प्रमुख इश्वरी बस्नेतले रु.१ अर्ब, ४ कराेड ६५ लाख ६४ हजार २०२ रुपैया अनुमानित बजेट विनियोजन गर्नुभएको थियोे। उहाँले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला तथा बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, सडक निर्माण, ढल व्यवस्थापन, विद्युत विस्तार, सूचना प्रविधि, नगर सरसफाइ तथा पर्यटन प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
उप–प्रमुख बस्नेतले नगरको समग्र विकासका लागि स्रोतको अधिकतम प्रयोग, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई मुख्य रणनीति बनाएर बजेट तयार पारिएको बताउनुभयो ।
नगरपालिकाले आगामी दिनमा योजनाको छनौटदेखि कार्यान्वयनसम्म जनसहभागिता, पारदर्शिता र गुणस्तरीयता सुनिश्चित गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।![]()







