गोलन्जोर गाउँपालिकाको गाउँ सभा १७ औँ अधिवेशन सम्पन्न, ६२ करोड बढीको बजेट प्रस्तुत,
सिन्धुली ।
सिन्धुलीकाे गोलन्जोर गाउँपालिकाको गाउँ सभा १७ औँ अधिवेशन आज (मंगलबार) सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) ले ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको थियो। प्रस्तुत बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला तथा बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, सडक निर्माण, विद्युत विस्तार, सूचना प्रविधिको विकास, र सरसफाइ लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ।
उपाध्यक्ष न्यौपानेले बजेट प्रस्तुत गर्दै स्थानीय स्रोत साधनको अधिकतम उपयोग, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई मुख्य रणनीति बनाई समग्र विकास लक्ष्यअनुरूप बजेट निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले बजेट नीतिनिर्माणको क्रममा पालिकाका आन्तरिक आवश्यकता, जनचासो र उपलब्ध स्रोतलाई ध्यानमा राखिएको उल्लेख गर्नुभयो।![]()
गाउँ सभा अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरी, पालिकाका सातवटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सम्पूर्ण कर्मचारी, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
अधिवेशनले गाउँपालिकाको आगामी आर्थिक वर्षको कार्यदिशा र प्राथमिकताहरूको स्पष्ट खाका प्रस्तुत गर्दै विकास, पूर्वाधार विस्तार र सामाजिक समावेशीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।![]()







