मरिण–६ भुताहामा ‘रामपुर–१०’ हाइब्रिड मकै बिउ उत्पादन कार्यक्रम भव्य रूपमा उद्घाटन,

२०८२ मंसिर २ गते, मंगलवार

सिन्धुली।
सिन्धुलीको मरिण गाउँपालिका–६ भुताहामा आज (मंगलबार) ‘रामपुर–१०’ हाइब्रिड मकै बिउ उत्पादन कार्यक्रम भव्य रूपमा उद्घाटन गरिएको छ।

स्थानीय कृषि उत्पादनलाई आत्मनिर्भर र व्यावसायिक बनाउन मद्दत गर्ने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रम किसान तथा सरोकारवालाबीच विशेष उत्साहका साथ सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रूपमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात) हुनुहुन्थ्यो । उहाँले स्थानीय किसानको श्रम, क्षमता र सम्भावनालाई पहिचान गर्दै गाउँपालिकाले उत्पादनमूलक कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको बताउनु भयो ।

वडा नं. ६ का अध्यक्ष श्री हर्कविर माझीले मकै बिउ उत्पादन यस क्षेत्रको आर्थिक उन्नतिमा महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयाे ।

कृषि विकास कार्यालय, सिन्धुलीका प्रमुख अनुप अधिकारीले हाइब्रिड मकैबिउ उत्पादनले स्थानीय किसानलाई गुणस्तरीय बिउ उपलब्ध गराउनका साथै बजारमा प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न सहयोग गर्ने बताउनु भयो।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका प्राविधिक श्री तिर्थ सुवेदीले रामपुर–१० जातको उत्पादक क्षमता, रोग सहनशीलता र उपयुक्तताबारे प्राविधिक प्रस्तुति राख्दै यसको व्यावसायिक सम्भावना विस्तृत रूपमा स्पष्ट पार्नुभयाे ।

मरिण गाउँपालिका कृषि शाखाका प्रमुख श्री मदन श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोग निरन्तर रहिरहने आश्वासन दिँदै किसानसँगको सहकार्यप्रति ध्यानाकर्षण गराउनुभयाे ।

स्थानीयस्तरमा कृषिमा आत्मनिर्भरता, उत्पादनमा वृद्धि, किसानको आम्दानीमा सुधार र आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहित गर्ने लक्ष्यसहित सुरु गरिएको ‘रामपुर–१०’ हाइब्रिड मकै बिउ उत्पादन कार्यक्रमले क्षेत्रको कृषि विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएकाे छ।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon