लिखु तामाकोशीमा झट्टेश्वर मावी धोबीले राष्ट्रपति रनिङ शिल्डसहित प्राप्त गर्याे ३० हजार नगद,
![]()
रामेछाप ।
रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उत्कृष्ट प्रदर्शन गर्दै समग्र च्याम्पियन बन्न सफल भएको छ। विभिन्न खेल विधामा प्रभावशाली प्रदर्शन गरेको विद्यालयले २९ स्वर्ण, २० रजत र २० कास्य गरी कुल ६९ पदक जित्दै रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रसहित ३० हजार नगद पुरस्कार प्राप्त गर्यो।
प्रतियोगितामा १५ स्वर्ण, १५ रजत र १४ कास्यसहित ४४ पदक जितेको चण्डेश्वरी मावी सैपुले दोस्रो स्थान हासिल गर्दै २० हजार नगद पुरस्कार प्राप्त गर्यो। त्यसैगरी, ११ स्वर्ण, १३ रजत र १३ कास्यसहित ३७ पदक बटुलेको अरुणोदय मावी सैपु तृतीय स्थानमा रहँदै १५ हजार नगद पुरस्कारले सम्मानित भयो। ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक जितेको त्रिपुरेश्वर मावी दुर्गागाउँले सान्त्वना स्थान सुनिश्चित गर्दै १० हजार नगद पुरस्कार हात पार्यो।
अन्य विद्यालयमध्ये तामाकोशी ज.जा. मावी खिम्तीले २ स्वर्ण, ४ रजत र १२ कास्य, भृङ्गेश्वर मावी धारापानीले २ स्वर्ण, ४ रजत, ६ कास्य, भृङ्गेश्वर मावी कोटगाउँले २ स्वर्ण, १ कास्य, नवदर्शन मावी तिलपुङले १ स्वर्ण, ६ रजत, १३ कास्य, बुद्ध जनप्रिय मावी नागदहले १ स्वर्ण, १ कास्य तथा मावी ज्यामिरेखानी–खिम्तीले १ रजत, ४ कास्य पदक जिते। भृक्षेश्वर मावी खोल्मागाउँ भने यसपटक पदक बिनै प्रतियोगिताबाट बाहिरियो।
समापन समारोह झट्टेश्वर मावी धोबीको खेलमैदानमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख अतिथि चिना खड्का कार्की, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रीन, गाउँ खेलकुद विकास समितिका अध्यक्ष सुनिल तामाङलगायतका अतिथिले विजयी खेलाडी तथा टोलीलाई पुरस्कार वितरण गर्नुभएकाे थियोे भने प्रतियोगितामा ११ विद्यालयका खेलाडीबीच ६६ खेल विधामा प्रतिस्पर्धा भएको थियोे ।







