गोलन्जोर गाउँपालिका–७ का कृषकहरूलाई १० वटा मिनि टिलर हस्तान्तरण,

२०८२ जेष्ठ ४ गते, आईतवार

सिन्धुली ।
सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिकाले कृषियान्त्रिकीकरणतर्फको कदमलाई अघि बढाउँदै वडा नं. ७ का कृषकहरूलाई मिनि टिलर हस्तान्तरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वडास्तरीय कार्यक्रमअन्तर्गत आयोजित एक विशेष समारोहका बीच किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत १० वटा मिनि टिलर वितरण गरिएको हो।

मिनि टिलर वितरण कार्यक्रम वडा नं. ७ मा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता रेगन राज थापा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, कृषि शाखा प्रमुख सरोज दाहाल तथा वडा भित्रका कृषक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष थापाले कृषिमा यान्त्रिकीकरणको आवश्यकता र यसले उत्पादनमा ल्याउने गुणात्मक परिवर्तनबारे प्रकाश पार्दै गाउँपालिकाले कृषकहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो पालिकाको सम्भाव्यता कृषिमा छ। त्यसलाई यान्त्रिक सहयोगद्वारा व्यवस्थित गर्दै जानु नै समृद्धिको बाटो हो।”

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले पालिकाको कृषि अनुदान तथा यान्त्रिक उपकरण वितरण कार्यक्रमहरूले कृषकहरूलाई उत्पादनमुखी बनाउन सहयोग पुर्‍याएको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिनुभयो।

कृषि शाखा प्रमुख सरोज दाहालले मिनि टिलरको सही प्रयोगबारे जानकारी गराउँदै कृषकहरूले यसको प्रभावकारी उपयोग गर्न सके उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहकारी संस्थामार्फत गरिएको वितरण प्रणालीले पारदर्शिता र स्थानीय सहभागिता सुनिश्चित गरेको उल्लेख गर्नुभयो।

स्थानीय कृषकहरूले मिनि टिलर प्राप्त हुँदा खेती गर्न सजिलो हुने, श्रम र समयको बचत हुने तथा उत्पादन लागत घट्ने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी कृषकहरूमा यस किसिमका प्रविधिमैत्री कार्यक्रमले आत्मबल बढाएको बताइएको छ।

गोलन्जोर गाउँपालिकाले आगामी दिनमा पनि कृषिमैत्री तथा प्रविधिनिर्भर कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon