गोलन्जोरमा तरकारी पकेट विकास कार्यक्रमले कृषकमा उत्साह थप्यो,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, खनियाखर्क र विजयछाप आसपासका क्षेत्रमा तरकारी खेतीको सम्भावनालाई व्यावसायिकरणतर्फ उन्मुख गराउन तरकारी पकेट विकास कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छ।
संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०८१/८२ मा श्री महाभारत कृषक सहकारी संस्था लिमिटेडको साझेदारीमा संचालन गरिएको यस कार्यक्रमले स्थानीय कृषकमा आशा र आत्मविश्वास थपिदिएको छ।
सहकारीका अध्यक्ष प्रकाश लुङ्गेली मगरका अनुसार “पहिलेदेखि नै तरकारी खेतीमा संलग्न कृषकहरूको अनुभव र नयाँ प्रविधिको मेलले उत्पादनमा गुणात्मक परिवर्तन ल्याउनेछ।” कार्यक्रमबाट २५ वटा बाँसका टनेल, ३ वटा फलामे टनेल, ४ वटा मिनि टिलर, मल्चिङ प्लास्टिक, सिँचाइ ट्यांकी, तरकारीका बीउ वितरण तथा प्रविधि हस्तान्तरण कार्यहरू लागत साझेदारीमा संचालन भइरहेका छन्।![]()
हिजो (शनिबार) प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, कृषि शाखा प्रमुख सरोज दाहाल, कृषि स्नातक पवित्रा भुजेल र सहकारीका पदाधिकारीहरूले विजयछाप क्षेत्रको स्थलगत अवलोकन र कृषकहरूसँग अन्तरक्रिया गरेका कार्यक्रम गर्नुभएको थियोे । उहाँहरुले कृषकका अनुभव, आवश्यकतालाई समेट्दै भविष्यमा कार्यक्रमको दायरा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमबाट तरकारी खेतीको क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ, भने उत्पादन र उत्पादकत्वमा पनि उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ। स्थानीय स्रोत, सहकारी र प्रविधिको समन्वयले गोलन्जोर गाउँपालिकालाई आत्मनिर्भर कृषि समुदायतर्फ उन्मुख गराउने सम्भावना देखिएको छ।![]()







