विश्व बाल दिवसमा रामेछाप नगरपालिकाद्वारा विविध शैक्षिक प्रतियोगिता सम्पन्न,

२०८२ मंसिर ४ गते, बिहीबार

रामेछाप ।

विश्व बाल दिवसको अवसर पारेर रामेछाप नगरपालिकाले विभिन्न विद्यालयस्तरीय प्रतियोगितासहित विशेष कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिका, श्री दिप बहादुर कार्की स्मृति प्रतिष्ठान तथा हेल्प फर रामेछाप ईभिको सहकार्यमा आयोजना गरिएको कार्यक्रम मावि भंगरीको प्राङ्गणमा सम्पन्न भएको हो।

माध्यमिक विद्यालयस्तरीय ‘शैक्षिक सुधारमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय भंगरीकी जेशिका श्रेष्ठ प्रथम हुँदै विजयी भइन्। गौरीशंकर माविका प्रेम बहादुर खड्का दोस्रो, कालिका माविकी शिक्षा पौडेले तेस्रो र सितलादेवी माविकी शान्ता पुलामी मगरले सान्त्वना प्राप्त गरे। विजेताहरूलाई क्रमशः ८ हजार ५ सय, ६ हजार ५ सय, ४ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा जलकल्याण मावि प्रथम स्थानमा रह्यो। जनता मावि दोस्रो, गौरीशंकर मावि तेस्रो र पटनादेवी माविले सान्त्वना स्थान प्राप्त गरे। उत्कृष्ट परियोजना प्रस्तुत गर्ने विद्यार्थीहरूलाई १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पनि जलकल्याण माविले नै प्रथम स्थान हासिल गर्‍यो। गंगालाल एकेडेमी दोस्रो, गौरीशंकर मावि तेस्रो र हिमगंगा मावि सान्त्वना बने। विभिन्न स्थान हासिल गर्ने टोली तथा विद्यार्थीलाई १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्र प्रसाद गजुरेल तथा श्री दिप बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीले विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयाे थियोे ।

विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिका कर्मचारी तथा पत्रकारलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले बाल दिवसलाई शैक्षिक प्रतिस्पर्धा तथा सिर्जनशीलताको माध्यमबाट अर्थपूर्ण बनाएको आयोजकहरूको भनाइ छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon