सिन्धुलीमा तीनदिने ‘जुनार महोत्सव’ सुरू, बजार विस्तार र कृषि सडक निर्माणमा जोड,
सिन्धुली।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमामा आजदेखि तीनदिने ‘जुनार महोत्सव’ सुरू भएको छ। कार्यक्रमको उद्घाटन बागमती प्रदेशका कृषि मन्त्री मधुसुदन पौडेल र उद्योग, वाणिज्य तथा भूमि मन्त्री बिन्दु श्रेष्ठले संयुक्त रूपमा गर्नुभयाे ।
महोत्सवको उद्देश्य जुनारको राष्ट्रिय–अन्तरराष्ट्रिय प्रचारप्रसार, क्षेत्र विस्तार र व्यवस्थित कृषि सडक निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराउनु रहेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताउनु भयो । उहाँले भन्नुभयाे “जुनार प्रवर्द्धन, बजारीकरण, गुणस्तर र प्रचारप्रसारलाई बलियो बनाउने यो वर्षको महोत्सवको मुख्य लक्ष्य हो।”
कार्यक्रममा किसानहरूले जुस, स्क्वास, जाम, जेली, क्यान्डीलगायतका जुनारजन्य परिकार प्रदर्शनी तथा बिक्रीमा राखेका छन्। परम्परागत बालीभन्दा धेरै आम्दानी हुने भएकाले किसान जुनार–सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।
गोलन्जोर ‘जुनार सुपरजोन’ घोषणा भइसकेको क्षेत्र हो।
कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार गत आर्थिक वर्षमा गोलन्जोर पालिकाबाट मात्र करिब रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ, भने जिल्लाभर करिब रु ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको थियोे ।
सडक अभावका कारण उत्पादन छिट्टै नष्ट हुने समस्या रहेका किसानले कृषि सडक करिडोर कालोपत्रे गर्न प्रदेश र संघीय सरकारको सहयोग मागेका छन्। गोलन्जोर–महाभारत क्षेत्रको कृषि सडक निर्माण महोत्सवको प्रमुख एजेन्डा रहेको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताउनु भयो ।
जुनार उत्पादन काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, विराटनगर, झापा र सीमा नजिकका भारतीय बजारसम्म पुग्दै आएको छ। सिन्धुलीमा १५ वटा चिस्यान केन्द्र सञ्चालनमा छन्, जहाँ करिब १,२०० मेट्रिकटन जुनार भण्डारण गर्न सकिन्छ।
जुनार–सुन्तला खेती विस्तारसँगै स्थानीय युवामा रोजगारी, व्यापारीमा आय वृद्धि र ग्रामीण पर्यटनका सम्भावना बढिरहेको छ। अन्तरराष्ट्रिय बजार विस्तार, अनुसन्धान केन्द्र स्थापना तथा रोग–कीरा नियन्त्रण प्रविधि विकासमा सरकारको सहयोग आवश्यक रहेको किसानहरूको माग समेत रहेको छ ।![]()







