डा. कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापतिमा चयन हुने तयारी,
रामेछाप ।
रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित डा. कृष्णहरि बुढाथोकी संसदको अर्थ समितिको नेतृत्व सम्हाल्ने तयारीमा हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद बुढाथोकीलाई उक्त समितिको सभापति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो।
रास्वपाले विषयगत ज्ञान र अनुभवलाई प्राथमिकता दिँदै उहाँलाई उम्मेदवार बनाएको जनाएको छ। प्रतिनिधिसभाको अर्थ समितिमा रास्वपाको करिब दुई तिहाइ बहुमत रहेकाले बुढाथोकी सभापतिमा चयन हुने लगभग निश्चित भएको छ।
बुढाथोकी रामेछाप जिल्लाबाट २४ हजार ८०८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। मन्थली नगरपालिका–१२, गेलुमा जन्मिनुभएका उहाँले विभिन्न ६ विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नुका साथै अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) हासिल गर्नुभएको छ।
उहाँसँग बैंक तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ। साथै वित्तीय प्रणालीका समस्या पहिचान र समाधानका लागि अनुसन्धानमूलक काममा समेत सक्रिय रहनुभएको छ।
संघीय संसद अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभामा १० वटा समिति छन्। तीमध्ये सार्वजनिक लेखा समिति र अर्थ समिति सबैभन्दा महत्वपूर्ण मानिने समितिमा पर्छन्।







